काठमाडौं । बाढीका कारण क्षतिग्रस्त भएको गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ।
रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको यस सडकखण्डमा ट्रयाक खुले पनि सडकको ग्रेड मिलाउने तथा ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताउनुभयो।
सडक निर्माण तथा मर्मतको काम जारी रहेकाले बाक्लो सवारी आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको भन्दै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ।
यसैबीच, ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा पुल जडानको तयारी सुरु गरिएको छ।
त्यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्रयाक खुलेसँगै यातायात सञ्चालनमा केही सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया