संसदमा मौन बस्ने, फेसबुकमा क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस् : सांसद खुश्बु ओली


काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाको प्रमुख सचेतक सांसद खुश्बु ओलीले संसदमा बोल्ने अवसर पाएर पनि मौन बस्ने तर सामाजिक सञ्जालमा गएर त्यही विषयमा आक्रामक रूपमा प्रस्तुत हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छन्।

उनले संसद जनताका समस्या र विषयमा प्रश्न उठाउने तथा सरकारलाई जवाफदेही बनाउने प्रमुख थलो भएको उल्लेख गरिन्।

ओलीले भनिन्, “संसदमा बोल्ने अवसर हुँदा मौन बस्ने तर त्यही विषय फेसबुकमा गएर लेखेर क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस्। संसद प्रश्न उठाउने ठाउँ हो।”

उनका अनुसार सांसदले संसदमा आफ्नो आवाज प्रभावकारी रूपमा उठाउन नसके सामाजिक सञ्जालमा जतिसुकै ठूलो आवाज बनाए पनि त्यसले जनताको वास्तविक आवाज बन्न नसक्ने बताइन्।

उनले राजनीति आफ्नो सुविधा हेरेर बोल्ने विषय मात्र नभएको भन्दै सही ठाउँमा सही प्रश्न उठाउनु र आफ्नै सरकारलाई समेत प्रश्न गर्न सक्नु सांसदको जिम्मेवारी भएको बताइन्।

ओलीले भनिन्, “आफ्नो सरकारलाई पनि प्रश्न गर्न नछुटाउनुहोस्। यो तपाईंहरूको जिम्मेवारी हो। यस्तो सांसद हुनु भन्दा चुनाव हार्नु जाति जस्तो लागिरहेको छ।”