चुनावपछि बागमतीमा ‘उज्यालो नेपाल’को सरकार बनाउने कुलमानको दाबी


मकवानपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्।

मंगलबार हेटौँडामा आयोजित पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै घिसिङले बागमतीमा सरकार गठनका लागि आधार तयार भइसकेको दाबी गरे। बागमतीबाट सुरु गर्दै संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यसहित पार्टी अघि बढेको उनको भनाइ छ।

घिसिङले उज्यालो नेपाल सत्ता प्राप्तिमा मात्र केन्द्रित नभई आर्थिक रूपान्तरण, सुशासन र विभेद अन्त्यलाई मुख्य एजेन्डा बनाएर अघि बढिरहेको बताए। उनले आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई आधार बनाउँदै मध्यमार्गी राजनीतिक बाटो अपनाउने बताए।

उनले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पारे। आफू तामाङ समुदायमा जन्मिए पनि आफ्नो राजनीतिक दृष्टिकोण समग्र देशको विकास, सुशासन र आर्थिक रूपान्तरणमा केन्द्रित रहेको उनको भनाइ छ।

घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनामा जनताले अपेक्षा गरेअनुसारको गति र परिणाम दिन नसकेको टिप्पणी गरे। सरकार पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहे पनि रणनीतिक विकास, सुशासन र कार्यान्वयनमा थप गति आवश्यक रहेको उनले बताए।

यसैबीच, घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको आरोप लगाए। एकीकरणका क्रममा उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचार गलत भएको दाबी गर्दै उनले सहमति एकतर्फी रूपमा भंग गरिएको बताए।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधि तीव्र बनाइरहेको पनि घिसिङले जानकारी दिए। स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्य रहेको उनले बताए।