काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार कमल तामाङले कांग्रेसलाई नयाँ ढंगबाट रूपान्तरण गर्दै देश परिवर्तनको अभियानमा अघि बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।
ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका तामाङले पत्रकारहरूसँग कुरा गर्दै आफू निर्वाचित भए कांग्रेसलाई थप लोकतान्त्रिक, जनमुखी र जनउत्तरदायी पार्टीका रूपमा अघि बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए।
उनले कांग्रेसभित्र विगतमा देखिएको नातावाद र कृपावादले पार्टीलाई कमजोर बनाएको भन्दै त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए। जनताले निर्वाचनमार्फत त्यसको जवाफ दिइसकेको उल्लेख गर्दै तामाङले अब महाधिवेशन प्रतिनिधिहरूले नयाँ पुस्ता र नयाँ नेतृत्वलाई अवसर दिने विश्वास व्यक्त गरे।
स्थानीय तहमा आफ्नो नेतृत्वमा जनमुखी कामलाई प्राथमिकता दिएको दाबी गर्दै उनले सुनकोशी गाउँपालिकालाई कोशी प्रदेशकै उत्कृष्ट पालिकामध्ये स्थापित गर्न सफल भएको जिकिर गरे।
कांग्रेसलाई जनताको अपेक्षाअनुसार अघि बढाउन नयाँ पुस्ताको नेतृत्व, लोकतान्त्रिक अभ्यास र बदलिएको कार्यशैली आवश्यक रहेको उनको भनाइ छ। यस्तो रूपान्तरण गगन थापाको नेतृत्वमा मात्रै सम्भव हुने तामाङको दाबी छ।
आगामी स्थानीय निर्वाचनमा कांग्रेसले जनताको मन र मत दुवै जित्ने दाबी गर्दै उनले भने, ‘बदलिएको कांग्रेसले आउँदो स्थानीय चुनावमा जनताको मन जितेरै छोड्छ । त्यसैले गगन थापाको नेतृत्वमा पार्टी र देश बदल्न मेरो उम्मेदवारी हो।’




















प्रतिक्रिया