काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनका लागि आन्तरिक तयारीमै रहेको बताएका छन्।
बुधबार आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले आयोग सदैव निर्वाचनको तयारीमा रहने र सरकारले तोकेको मितिमा निष्पक्ष तथा विवादरहित ढङ्गले निर्वाचन सम्पन्न गर्नु आयोगको जिम्मेवारी भएको बताए।
उनले भने, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ। त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ नै। निर्वाचनको मिति सरकारले तोक्ने हो। सरकारले तोकेको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो।’
स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा कार्कीले निर्वाचनको मिति आयोगले तोक्ने नभई संवैधानिक व्यवस्थाअनुसार आयोगसँगको परामर्शमा सरकारले घोषणा गर्ने स्पष्ट पारे।
उनले लामो समयसम्म स्थानीय तह खाली राख्न नहुने पक्षमा आयोग रहेको बताए। स्थानीय तहको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले संवैधानिक व्यवस्थाअनुसार त्यसको आसपास निर्वाचन हुने र त्यसैअनुसार आयोगले तयारी गरिरहेको उनको भनाइ छ।
स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्नेगरी आयोगले तयारी थालेको हो कि भन्ने प्रश्नमा कार्कीले अहिले नै दुवै निर्वाचन एकसाथ हुने भन्न नसकिने बताए। संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार निर्वाचन हुने र सरकारले मिति घोषणा गरेपछि त्यसअनुसार आयोगले आवश्यक प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारे।
‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरूप नै निर्वाचन हुने हो। त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन,’ कार्कीले भने।




















प्रतिक्रिया