काठमाडौं – भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक गरिएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने तृषा चटर्जी र हिमांशु जान शर्माले स्वर दिएका छन्। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ।
भव्य निर्माण र आकर्षक गीत–संगीतका लागि परिचित भुवन केसीले ‘मेरो मन चोर्यौ सुटुक्कै’मा पनि आफ्नो पुरानो शैलीलाई निरन्तरता दिएका छन्। श्रुतिमधुर अडियोसँगै गीतको भिडियो पनि आकर्षक बनेको छ। सामान्यतया गीतमार्फत कलाकारको नृत्य र प्रेमभाव प्रस्तुत गरिने भए पनि यस गीतको भिडियोले चलचित्रको टिजरमा देखाइएको कथा र परिवेशलाई समेत अगाडि बढाउने प्रयास गरेको छ।
खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले दर्शकलाई पुरानो समयको सम्झना गराउँछन्। गीतको दृश्यात्मक प्रस्तुतिले नेपाली चलचित्रका पुराना गीतहरूको झल्को दिने प्रयास गरेको छ।
गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र नव–नायिका प्रिन्सी खतिवडा फिचर्ड छन्। चलचित्रको टिजर सार्वजनिक भएसँगै अनमोलको लुक्समा उनका पिता भुवन केसीको झल्को आएको प्रतिक्रिया दर्शकबाट आएको थियो। गीत सार्वजनिक भएपछि यो चर्चा थप बलियो हुने देखिन्छ। गीतमा अनमोलको हाउभाउ र अदाले भुवन केसीका पुराना चलचित्रका गीतहरूको सम्झना गराउँछन्।
यता, यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी प्रिन्सी खतिवडाले पनि आफ्नो प्रस्तुति र अभिव्यक्तिबाट ध्यान खिचेकी छन्। गीतका शब्दअनुसार उनले प्रस्तुत गरेको एक्सप्रेसन र अन्दाजमा पुरानो पुस्ताकी अभिनेत्री कृष्टि केसीको झल्को देख्न सकिन्छ। प्रिन्सीलाई भुवन केसीले किन रोजे भन्ने जिज्ञासाको जवाफ पनि उनको प्रस्तुतिले दिने संकेत गरेको छ।
भुवन केसीको दोस्रो निर्देशकीय चलचित्र ‘बाटुलो जून’मा भुवन केसी र गरिमा पन्तको समेत अभिनय रहेको छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्र आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह–निर्माताका रूपमा रहेका छन्।

















प्रतिक्रिया