‘अक्षरा’पछि ‘बाकस’मा पुस्कर राउतको इन्ट्री, महेश त्रिपाठीपछि भए अनुबन्धित


काठमाडौं – हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’का अभिनेता पुस्कर राउत नयाँ फिल्म ‘बाकस’मा अनुबन्धित भएका छन्। शनिबार फिल्मका निर्देशक नवीन पन्तले राउतलाई फिल्ममा अनुबन्ध गरेका हुन्।

पुस्करलाई फिल्ममा कुन भूमिकामा प्रस्तुत गरिनेछ भन्ने विषयमा निर्देशक पन्तले खुलाउन चाहेनन्। उनले फिल्मको कथावस्तुअनुसार नै राउतलाई अनुबन्ध गरिएको बताए। उनको भूमिकाबारे पछि जानकारी गराउने निर्देशक पन्तको भनाइ छ।

फिल्म ‘अक्षरा’ पुस्करको पहिलो फिल्म भने होइन। यसअघि उनले ‘कम्पन’, ‘एकलव्य’ र ‘आँधी तुफान’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। विभिन्न फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरिसकेका राउत अहिले ‘अक्षरा’मार्फत दर्शकमाझ देखिइरहेका छन्। अब उनी ‘बाकस’मा पनि देखिने भएका छन्।

यसअघि फिल्म ‘बाकस’मा महेश त्रिपाठी, विपना थापा, वर्षा राउत, भोलाराज सापकोटा र सुपला सापकोटा लगायतका कलाकार अनुबन्ध भइसकेका छन्। पुस्करको प्रवेशसँगै फिल्मको कलाकार टोली थप विस्तार भएको छ।

सुजिता चौलागाईंको निर्माण रहने फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता र धीरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माताका रूपमा छन्। फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीतका शब्द तथा रचना संगीतकार शर्मा र निर्देशक पन्तले गर्नेछन्।

अर्को महिनाबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ हुन्। फिल्ममा किरण दाहालले द्वन्द्व निर्देशन गर्नेछन् भने निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।