ग्लोबल आईएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ घोषित


काठमाडौं – ग्लोबल आईएमई बैंक अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ को ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको हो।

बैंकले सन् २०२४ र २०२५ मा पनि उक्त अवार्ड प्राप्त गरेको थियो। थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, डिजिटल तथा भौगोलिक पहुँच विस्तार, व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, कृत्रिम बौद्धिकता (एआई) सहित अत्याधुनिक प्रविधिको प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ।

अवार्ड समारोहमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थाहरू पनि सम्मानित भएका थिए।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहन मिलेको बताए।

ग्लोबल आईएमई बैंकका अनुसार ग्लोबल फाइनान्सको यस अवार्डबाट सम्मानित हुने ऊ पहिलो नेपाली बैंक हो। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेसनल बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सिलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका सम्मान प्राप्त गरिसकेको छ।