झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दाजुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् ।
प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएपछि कुबराजले भाइ बाबुलालमाथि छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट बाबुलालको घाँटीमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ । छुरा प्रहार गरेलगत्तै फरार भएका कुबराजलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया