पशुबाट मानिसमा सर्‍यो शामोन्डा भाइरस, कति छ जोखिम ?


पेरिस । फ्रान्समा पशुबाट सर्ने शामोन्डा भाइरसको मानिसमा पहिलो संक्रमण पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिको मृत्यु भइसके पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म यसलाई एकल घटना मानेको छ । आम जनसमुदायमा व्यापक जोखिम रहेको प्रमाण नभेटिएको पनि संगठनले जनाएको छ ।

डब्लूएचओले फ्रान्सेली अधिकारीहरूसँग समन्वय गर्दै घटनाको निगरानी गरिरहेको जनाएको छ । थप तथ्य प्राप्त भएपछि आवश्यक जानकारी सार्वजनिक गरिने संगठनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।

के हो शामोन्डा भाइरस ?

डब्लूएचओका अनुसार शामोन्डा भाइरस सन् १९६५ मा नाइजेरियामा गाईवस्तुमा पहिलोपटक पहिचान भएको थियो । यो मुख्यतः गाईगोरुमा देखिने भए पनि भेडा, बाख्रा, घोडा र अल्पाकाजस्ता जनावरमा समेत सङ्क्रमण हुन सक्छ ।

विश्व पशु स्वास्थ्य संगठनका अनुसार सङ्क्रमित जनावरमा ज्वरो आउने, पखाला लाग्ने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिन सक्छन् । गर्भावस्थामा सङ्क्रमण भएमा जन्मिने बच्चामा जन्मजात शारीरिक विकृति देखिन सक्ने जोखिमसमेत रहन्छ ।

कसरी सर्छ भाइरस ?

शामोन्डा भाइरस मुख्यतः ‘क्युलिकोइड्स मिज’ नामक सानो झिँगाजस्तो कीराको टोकाइबाट जनावरमा सर्ने गर्छ । यसमा संलग्न कीराको यकिन प्रजाति पहिचान गर्न थप अध्ययन आवश्यक रहेको बताइएको छ ।

सङ्क्रमित पोथी जनावरबाट गर्भमा रहेको बच्चामा भाइरस सर्न सक्ने भए पनि जनावरबाट जनावरमा प्रत्यक्ष सम्पर्कमार्फत सर्ने गरेको अहिलेसम्म पुष्टि भएको छैन ।

यो भाइरस ‘ओर्थोबुन्याभाइरस’ वर्गअन्तर्गत पर्ने ‘सिम्बु’ उपसमूहमा पर्छ । यसै उपसमूहमा श्मालेनबर्ग भाइरस पनि पर्दछ ।

युरोपमा फैलिँदै निगरानीको दायरा

शामोन्डा भाइरसका घटना यसअघि मुख्यतः अफ्रिका र जापानमा पहिचान भएका थिए । पछिल्लो समय युरोपमा पनि यसको उपस्थिति देखिएको छ । दक्षिणी जर्मनी र स्विट्जरल्यान्डमा गाईवस्तुमा भाइरस भेटिएपछि अस्ट्रिया, बेल्जियम र फ्रान्सलगायत देशमा समेत सङ्क्रमण पुष्टि भएको विवरण सार्वजनिक भएका छन् ।

यस भाइरसको गतिविधि कीराको मौसमी चक्रसँग सम्बन्धित हुन सक्ने भएकाले युरोपमा यसको फैलावट र प्रभावबारे थप निगरानी आवश्यक रहेको जनाइएको छ ।

मानिसमा कति छ जोखिम ?

फ्रान्समा सङ्क्रमित व्यक्तिलाई भाइरस बोकेको कीराले टोकेको हुन सक्ने अधिकारीहरूको आशङ्का छ । तर उनी कसरी सङ्क्रमित भए र उनको मृत्युको प्रमुख कारण यही भाइरस थियो वा अन्य स्वास्थ्य जटिलता, भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ ।

युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अनुसार ती व्यक्ति पहिलेदेखि नै गम्भीर रोगको उपचार गराइरहेका थिए । त्यसैले उनको स्वास्थ्य अवस्थाले सङ्क्रमणको जोखिममा प्रभाव पारेको हुन सक्ने बताइएको छ ।

डब्लूएचओले हालसम्म यो घटनालाई एकल संक्रमणका रूपमा लिएको छ । त्यसैले यसलाई व्यापक जनस्वास्थ्य सङ्कटका रूपमा हेर्ने पर्याप्त प्रमाण छैन । यद्यपि, भाइरसको मानव स्वास्थ्यमा पर्ने प्रभावबारे थप अनुसन्धान आवश्यक छ ।

खोप र विशेष उपचार उपलब्ध छैन

शामोन्डा भाइरसविरुद्ध हालसम्म विशेष खोप वा उपचार उपलब्ध छैन । जनावरमा देखिने लक्षण अन्य रोगसँग मिल्न सक्ने भएकाले सङ्क्रमण पुष्टि गर्न प्रयोगशाला परीक्षण आवश्यक पर्छ ।

विश्व पशु स्वास्थ्य संगठनले यसको निगरानी र जोखिम मूल्याङ्कनलाई महत्त्व दिनुपर्ने बताएको छ । मानिसमा पहिलो संक्रमण पुष्टि भएपछि भाइरसको मानव स्वास्थ्यमा पर्ने प्रभाव, सङ्क्रमणको सम्भावित मार्ग र भविष्यमा देखिन सक्ने जोखिमबारे थप अध्ययन हुने अपेक्षा गरिएको छ ।