हैदराबाद । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातका कारण तीव्र हावा र भारी वर्षा भएको छ ।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार चक्रवातको हावाको गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । भित्री भूभागतर्फ अघि बढ्दै जाँदा चक्रवात कमजोर हुने अनुमान गरिएको छ । घटनामा मानवीय क्षति भएको विवरण तत्काल प्राप्त भएको छैन ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका २० जिल्लामा दुई हजारभन्दा बढी आश्रयस्थल स्थापना गरिएको छ । जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै आपत्कालीन स्वास्थ्य सेवाका लागि करिब एक हजार १०० टोली परिचालन गरिएको छ ।
छिमेकी ओडिसामा पनि करिब ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । भारतीय मौसम विभागले दुवै राज्यका केही क्षेत्रमा भारी वर्षा र तीव्र हावा चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

















प्रतिक्रिया