नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति


काठमाडौँ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस सिजनमा १६१ टोलीलाई आरोहण अनुमति दिइएको छ। आरोहण अनुमतिबापत विभागले ३१ करोड ८० लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ।

पर्यटन विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार अनुमति लिनेमा १ हजार ६९ पुरुष र ३४१ महिला छन्। विभागले आरोहण अनुमतिबापत कुल ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी संकलन गरेको जनाएको छ।

मनास्लु आरोहणमा सबैभन्दा धेरै आकर्षण

यस सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणका लागि अनुमति लिएका छन्। मनास्लु चढ्न ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका हुन्। तीमध्ये ३७३ पुरुष र १२७ महिला छन्। मनास्लु आरोहणबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले अनुमति लिएका छन्। यसबाट पाँच करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ। हिम्लुङ हिमाल आरोहणका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन् भने त्यसबाट ७४ लाख २७ हजार ७२० रुपैयाँ रोयल्टी प्राप्त भएको छ।

धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन्। उनीहरूबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ। मकालु हिमाल आरोहणका लागि भने एउटा टोलीका तीन जनाले अनुमति लिएका छन्, जसबाट छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।

चीन, फ्रान्स र अमेरिकाका आरोही धेरै

आरोहण अनुमति लिने विदेशी आरोहीमध्ये चीनका १४१ जना छन्। त्यसपछि फ्रान्सका १३०, अमेरिकाका ११९, रुसका १०८ र बेलायतका ९६ जना रहेका छन्। यसैगरी, स्विट्जरल्यान्ड र इटालीका ४७–४७, पोल्यान्डका ४१, भारतका ४०, जापानका ३५, नेपालका ३३ र स्पेनका ३१ जनाले अनुमति लिएका छन्।

विभागले पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति दिएको छ।

विभागका अनुसार यस सिजनमा आरोहण अनुमतिबाट दुई लाख ८९ हजार ५८४ अमेरिकी डलरभन्दा बढी रोयल्टी संकलन भएको विवरण सार्वजनिक गरिएको छ। नेपालका हिमालप्रति विदेशी आरोहीको आकर्षणसँगै पर्वतीय पर्यटनबाट हुने आम्दानीमा पनि मनास्लु र आमादब्लमजस्ता हिमालको योगदान उल्लेखनीय देखिएको छ।