काठमाडौं – चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ ।
शशी शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतले घरजमका लागि उपयुक्त जीवनसाथी खोजिरहेकी युवतीको कथा प्रस्तुत गरेको छ । क्यासिनोको परिवेशमा तयार पारिएको गीतमा एक युवतीले आफूलाई असल युवक चाहिएको भाव व्यक्त गरेकी छन् ।
गीतको भिडियोमा इभा गिरीको आकर्षक तथा बोल्ड नृत्य देख्न सकिन्छ । उनको नृत्यमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले पनि साथ दिएका छन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायतको पनि अभिनय रहेको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् । लेखक पौडेलका अनुसार यो चलचित्र ‘सोसल ड्रामा’ विधामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नु चलचित्रको मुख्य विशेषता रहेको उनको भनाइ छ ।
श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम र पुकार धिमालको भीएफएक्स रहेको छ ।
डल्बी एटमस साउन्ड प्रविधिमा तयार पारिएको चलचित्र आगामी कात्तिक २० गते देखि प्रदर्शनमा आउनेछ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गर्दैछन् ।

















प्रतिक्रिया