‘बाटुलो जून’को शीर्ष गीतमा छल्कियो अनमोल र प्रिन्सीको प्रेम


काठमाडौं । तिहारको अवसर पारेर कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रेममा रहेका जोडीको भावनालाई समेटिएको गीतमा एसडी योगीको संगीत तथा राम अविरल विष्टको शब्द रहेको छ । गीतमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडासँगै निर्देशक भुवन केसी र गरिमा पन्त पनि देखिएका छन् । भिडियोमा अनमोल र प्रिन्सीलाई भुवन र गरिमाको युवावस्थाको भूमिकामा प्रस्तुत गरिएको छ । चारै कलाकारको रोमान्टिक प्रस्तुतिले गीतलाई थप आकर्षक बनाएको छ ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी र हिना नगरकोटीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह-निर्मातामा छन् ।

करिब तीन दशकअघिको प्रेमकथामा आधारित चलचित्रको कथा सामिप्यराज तिमल्सेना, सरिन पोखरेल र काजल केसीले तयार पारेका हुन् । पटकथा तथा संवाद सामिप्यराज र सरिनको रहेको छ ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सार्थक तालेको ध्वनि संयोजन रहेको छ ।