काठमाडौं । देशभर भइरहेको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पाँचौँ दिन शनिबारका दुवै खेल प्रभावित भएका छन्।
शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका थियो।
दिनको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुने निर्धारित थियो। त्यसका लागि १२ बजे टस हुने कार्यक्रम रहे पनि वर्षाका कारण टस हुन सकेन। दिउँसो १२ः४० बजेसम्म पनि वर्षा नरोकिएपछि खेल सुरु हुने समय अनिश्चित बनेको छ।
अहिले मैदान पूर्ण रूपमा कभरले ढाकिएको छ भने बाउन्ड्री आसपास पानी जमेको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार दुवै टोलीलाई तयारी अवस्थामा राखिएको छ।
मौसम पूर्वानुमानअनुसार दिउँसो ३ बजेपछि घाम लाग्ने सम्भावना देखिए पनि लगातारको वर्षाका कारण दुवै खेल हुने सम्भावना कम देखिएको छ।
प्रतियोगिताको नियमअनुसार वर्षाका कारण खेल हुन नसकेमा दुवै टोलीले १–१ अंक बाँड्नेछन्। त्यसो भएमा लुम्बिनी र चितवनसँगै विराटनगर र सुदूरपश्चिमले पनि समान एक–एक अंक पाउनेछन्।
यसअघि दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा जित निकालेका थिए। डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो भने चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको जित हात पारेको थियो।
शनिबारका खेल वर्षाका कारण हुन नसकेमा ती खेल कहिले सञ्चालन गर्ने भन्नेबारे क्यानले अहिलेसम्म कुनै जानकारी दिएको छैन।

















प्रतिक्रिया