काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। पतञ्जलि जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै बेला अख्तियारले मंगलबार नेपालविरुद्ध नयाँ मुद्दा विशेष अदालतमा पुर्याएको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध अर्को मुद्दा आएको पुष्टि गर्दै अहिले त्यसको रुजु गर्ने काम भइरहेको जानकारी दिइन्।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गर्न मन्त्रिपरिषद्बाट निर्णय गराइएको प्रकरणमा अख्तियारले नेपाललाई प्रतिवादी बनाएको हो।
आयोगका अनुसार इटहरीबाट विराटनगर जाने मुख्य सडकसँग जोडिएको कम्पनीको जग्गा बिक्री गर्न र त्यसको सट्टामा दुर्गम स्थानमा जग्गा लिन तत्कालीन सरकारले अनुमति दिएको थियो। उक्त निर्णय २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद्बाट भएको थियो।
हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गर्न अनुमति दिँदा अनियमितता भएको आरोपमा अख्तियारले अनुसन्धान अघि बढाएको हो। सोही प्रकरणमा नेपाललाई प्रतिवादी बनाएर आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
यसअघि पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा पनि नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दाको किनारा लाग्न बाँकी रहँदै उनीविरुद्ध अर्को मुद्दा पुगेको हो।

















प्रतिक्रिया