नयाँ वर्ष नेपाल संवत् मनाउन कांग्रेसले आयोजना गर्ने ‘सुकुन्दा र्‍याली’


काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ। नेपाल संवत् मनाउने समुदायको सांस्कृतिक परम्परा र मौलिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको हो।

महानगर समितिका सभापति सुशन वैद्यका अनुसार कात्तिक २१ गते शनिबार साँझ ४ बजे काठमाडौँको लगनटोलबाट र्‍याली सुरु हुनेछ।

र्‍याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुनेछ।

कांग्रेस सभापति गगनकुमार थापाको सहभागितामा आयोजना हुन लागेको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सहभागी हुन महानगर समितिले निमन्त्रणा गरेको छ।

सभापति वैद्यले सुकुन्दा र्‍यालीले काठमाडौँको सांस्कृतिक परम्परा र मौलिक पहिचानको संरक्षणसँगै सामाजिक सद्भाव प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।