काठमाडौं । प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको स्वरमा सजिएको छठ गीत ‘करीले परबिया’ सार्वजनिक भएको छ। आगामी छठपर्वलाई लक्षित गर्दै निर्माण गरिएको भोजपुरी भाषाको यस गीतमा मधेश प्रदेशको कला, संस्कृति र धार्मिक पहिचानलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलबार साँझ गीत सार्वजनिक गरिएको हो। फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेको गीत उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री यादवले गीतको निर्माण पक्ष र कलाकारहरूको प्रशंसा गरे। मधेश प्रदेशमा यस स्तरको गीत निर्माण हुनु गर्वको विषय भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता गीत–संगीत तथा चलचित्र निर्माणलाई निरन्तरता दिन आग्रह गरे। उनले प्रदेश सरकार कलाकार, धर्म र संस्कृतिको प्रवर्द्धनका लागि सदैव साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे।
छठपर्वका अवसरमा व्रतालुहरूले गर्ने पूजापाठ, विधि र परम्परालाई गीतको भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। जनकपुरधामका प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर तथा ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको भिडियोले मिथिला संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ।
गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। भिडियोमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय देख्न सकिन्छ। कमलेश सिंह (काम ली)को निर्देशनमा तयार भएको भिडियो उडान प्रोडक्सन्सले निर्माण गरेको हो। भिडियोको छायांकन साजन ठाकुरले गरेका छन् भने ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन्।
कार्यक्रममा उडान इन्टरटेन्मेन्टकी सञ्चालक तथा गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा आफू निरन्तर सक्रिय रहने बताइन्।
‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्छ। गीत–संगीत र चलचित्रका माध्यमबाट मिथिलाको संस्कृति, सभ्यता र परम्परालाई अगाडि ल्याउने प्रयासमा छु। आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिनेछु,’ उनले भनिन्।
शर्मिलाले केही दिनपछि छोरीहरूप्रति समर्पित चलचित्र ‘मायाजाल’ सार्वजनिक गर्ने तयारी भइरहेको जानकारीसमेत दिइन्। उनले निर्माण गरेको नेपाली चलचित्र ‘आशा’ आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ।
भारतीय गायिका कल्पना पटवारी भोजपुरी संगीत क्षेत्रमा चर्चित नाम हुन्। उनले ‘बिल्लु भयङ्कर’, ‘तेरे लाई’, ‘उँचा लम्बा कद’, ‘इश्कसे मिठा’, ‘शकिरा’, ‘ऐला रे ऐला’ र ‘गन्दी बात’ लगायतका चर्चित गीतमा स्वर दिएकी छन्। भारतीय फिल्मसँगै भोजपुरी, मराठी र बंगाली भाषाका गीतमा समेत आवाज दिँदै आएकी कल्पना पछिल्लो समय धार्मिक गीत-संगीतमा पनि सक्रिय छिन्।

















प्रतिक्रिया