कर्णाली । जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो पटक प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेसँगै पक्राउ पर्ने कैदीको संख्या चार पुगेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार बुधबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन्। रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने परियार नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका थिए।
यसअघि मंगलबार प्रहरीले रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई पक्राउ गरेको थियो। दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए। प्रहरीका अनुसार चेकजाँचका क्रममा भाग्न खोज्दा उनीहरू पक्राउ परेका थिए।
गत कात्तिक १४ गते शुक्रबार बिहान ६ बजे डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। फरारमध्ये चार जना पक्राउ परे पनि बाँकी चार जनाको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

















प्रतिक्रिया