काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नागरिकको सुरक्षा, सम्मान र भरोसालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि सम्बोधन गर्दै उनले संविधान र कानुनको पूर्ण पालना गर्दै प्रहरी संगठनलाई निष्पक्ष, मर्यादित र जनउत्तरदायी बनाउने बताए।
प्रहरी संगठनको गरिमा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै केसीले नागरिकसँगको सम्बन्धलाई संगठनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गरे।
‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून् र प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्,’ उनले भने।
आईजीपी केसीले प्रहरी कर्मचारीका समस्या तथा गुनासा सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणा पनि गरेका छन्।
उनले प्रहरी कर्मचारीको कार्यसम्पादनमा देखिएका चुनौती, सीमित स्रोतसाधन, भवन अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, प्रहरी संगठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गरे। प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
नागरिकको विश्वास जित्ने, प्रहरी कर्मचारीको मनोबल बढाउने र संगठनलाई व्यावसायिक तथा निष्पक्ष बनाउने विषयलाई आफ्नो नेतृत्वको प्राथमिकतामा राखेको केसीले बताएका छन्।

















प्रतिक्रिया