काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश गम्भीर संकटमा रहेका बेला सरकारको प्राथमिकता भने प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनमा केन्द्रित भएको भन्दै आलोचना गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आङदेम्बेले आईजीपीको कार्यकाल अझै १७ महिना बाँकी रहँदा उनलाई पदबाट हटाउनुपर्ने सरकारको बाध्यता के हो भन्दै प्रश्न गरेका छन्।
भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका कारण नागरिकहरू पीडामा रहेको, विस्थापित सुकुम्बासीको अवस्था बेहाल भएको र महँगीले जनजीवन आक्रान्त बनेको अवस्थामा सरकारको प्राथमिकता जनताका समस्या समाधान गर्नेतर्फ हुनुपर्ने उनको भनाइ छ।
‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ?’ उनले प्रश्न गरेका छन्।
प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाउन खोजिएको हो भन्नेबारे पनि उनले सरकारसँग जवाफ मागेका छन्। यसक्रममा उनले सत्तारूढ दलभित्रै आईजीपी हटाउने विषयमा फरक–फरक धारणा सार्वजनिक भएको भन्दै विरोधाभास औँल्याएका छन्।
‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?’ उनले लेखेका छन्।
आङदेम्बेले प्रहरी अनुसन्धानमाथि राजनीतिक हस्तक्षेप भएको आरोपसमेत लगाएका छन्। बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गरेपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषय उठाउँदै उनले त्यसको कारणबारे प्रश्न गरेका छन्।
‘एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गर्छ, तर उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुग्छ। अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उनले प्रश्न गरेका छन्।
जनताले सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनजीवन सहज बनाउन वर्तमान सरकारलाई मत दिएको स्मरण गराउँदै आङदेम्बेले सत्ता र शक्तिको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्ने प्रयास भइरहेको आरोप लगाएका छन्।


















प्रतिक्रिया