हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा कार्यसम्पादनलाई थप प्रभावकारी, परिणाममुखी र नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्ने बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट तथा उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विगत आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गरेर आगामी योजना तय गर्नुपर्ने बताए ।
‘स्वास्थ्य क्षेत्रमा बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्म उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग हुनुपर्छ,’ उनले भने, ‘प्राथमिकताका आधारमा योजना निर्माण गरी अपेक्षित उपलब्धि हासिल गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ ।’
मन्त्री पौडेलले वार्षिक समीक्षा गोष्ठीलाई औपचारिकतामा मात्र सीमित नराखी विगतका कमीकमजोरी पहिचान गर्ने, सुधारका उपाय खोज्ने र आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्न स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायलाई आग्रह गरे ।
गोष्ठीमा प्रदेशभित्र सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गरिएको थियो । साथै, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती, उपलब्धि र आगामी रणनीतिका विषयमा सरोकारवालाबीच छलफल भएको थियो ।

















प्रतिक्रिया