मंसिर १८ मा आउने भयो ‘सिन्दुरे जात्रा’, पोस्टरमा भावुक देखिए विजय र अञ्जना


काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को प्रदर्शन मिति परिवर्तन भएको छ। यसअघि मंसिर ४ गते प्रदर्शन हुने भनिएको फिल्म अब दुई साता पछि सरेर मंसिर १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्षले शुक्रबार नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक मुद्रामा देख्न सकिन्छ।

पोस्टरमा अञ्जना विजयको छातीमा टाँसिएर रोइरहेकी छन् भने विजयको आँखामा पनि आँसु देखिन्छ। पोस्टरले उनीहरूबीचको गहिरो भावनात्मक सम्बन्ध र पारिवारिक संवेदनालाई संकेत गरेको छ।

मंसिर १८ गते नै दयाहाङ राई अभिनीत फिल्म ‘रातो घेरा’ पनि प्रदर्शनमा आउने भएकाले ‘सिन्दुरे जात्रा’ले बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल र अञ्जना बराइलीसँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियार, राकेश खड्का र युना खड्कालगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता नेम महर्जन हुन्।

निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्। पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको छ। फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा छन्।