सयौँ कागको जमघटसँगै दरबारमार्गमा २३औँ काग सम्मेलन


काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबारअगाडि २३औँ ‘काग सम्मेलन’ आयोजना गरिएको छ । सम्मेलनमा सयौँ काग एकै ठाउँमा भेला भएका थिए ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको सम्मेलनमा कलाकार रमेश दुलालले कागको हुबहु आवाज निकालेर आकाश तथा वरपरका रूखमा रहेका कागलाई कार्यक्रमस्थलमा बोलाएका थिए । दुलालले कागको आवाज निकाल्न थालेपछि केही समयमै दरबारमार्ग क्षेत्र सयौँ कागले भरिएको थियो ।

१७३ प्रकारका जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कलाकार दुलालले कागको आवाज निकालेर सम्मेलनलाई विशेष बनाएका थिए । उनको आवाज सुनेर विभिन्न दिशाबाट कागहरू कार्यक्रमस्थलमा जम्मा भएका थिए ।

कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाली धार्मिक तथा सांस्कृतिक परम्परामा कागलाई सन्देशवाहक र यमराजको दूतका रूपमा लिने गरिन्छ । काग तिहारका दिन कागको पूजा गरी खानेकुरा खुवाउने परम्परा छ । कागलाई खानेकुरा खुवाउँदा अशुभ समाचार सुन्न नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको छ ।

यही मान्यताअनुसार काग तिहारका दिन बिहानै घरको छत, आँगन तथा खुला स्थानमा दुना–टपरीमा विभिन्न परिकार राखेर कागलाई बोलाउँदै खानेकुरा दिने चलन छ ।