महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा सूर्य उपासनाको महापर्व छठको उल्लास छाएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले श्रद्धा, निष्ठा र भक्तिभावका साथ ‘खरना’ विधि गर्दैछन्।
पर्वको पहिलो दिन हिजो शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन व्रतालुहरूले पवित्र स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए। यससँगै छठ पर्वको औपचारिक सुरुवात भएको हो।
पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा व्रतालुहरू बिहानै पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्छन्। साँझ चन्द्रदर्शनपछि माटोको नयाँ चुलोमा माटाकै भाँडो प्रयोग गरी दूध, सख्खर र चामलबाट खीर पकाइन्छ। उक्त खीर कुलदेवता र छठी मातालाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। यही विधिलाई ‘खरना’ भनिन्छ।
खरना विधिमा तयार पारिएको प्रसाद परिवारका सदस्यले समेत ग्रहण गर्ने परम्परा छ। यस दिनदेखि व्रतालुहरूको कठोर निर्जला उपवाससमेत सुरु हुन्छ। छठ पर्वमा शुद्धता, संयम, आत्मअनुशासन र समर्पणलाई विशेष महत्त्व दिइन्छ।
छठ पर्वको तेस्रो दिन भोलि षष्ठी तिथिमा व्रतालुहरू दिनभरि निराहार व्रत बसेर साँझ नजिकैको नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका आकर्षक घाटमा पुग्नेछन्। कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ। मिथिलामा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ।
पर्वको अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ। उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्यका क्रममा नरिवल, ठकुवा, भुसुवा, केरालगायतका फलफूल तथा परम्परागत मिष्ठान्न परिकार सूर्यदेवलाई अर्पण गरिन्छ।
छठ पर्वका लागि ठकुवा, भुसुवालगायतका परिकार विशेष शुद्धता अपनाएर तयार पारिन्छन्। परम्परागत रूपमा ढिकी–जाँतोमा कुटिएको तथा पिसिएको पिठोबाट बनाइने यी परिकार छठको विशेष प्रसादका रूपमा परिचित छन्। व्रतालुहरूले प्रसाद आफन्त, इष्टमित्र तथा छरछिमेकमा समेत बाँड्ने चलन छ।
मिथिलामा छठ पर्वलाई लोकआस्थाको महापर्वका रूपमा लिइन्छ। विगतमा मधेसी हिन्दू समुदायमा बढी प्रचलित रहेको यो पर्व पछिल्लो समय पहाडी समुदायसहित विभिन्न जातजाति र धर्मावलम्बीको साझा सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ।
छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ। सूर्यप्रति कृतज्ञता प्रकट गर्ने, प्रकृतिको सम्मान गर्ने र परिवार तथा समाजको सुख, शान्ति एवं समृद्धिको कामना गर्ने यस पर्वले मिथिलाको मौलिक लोकसंस्कृतिलाई जीवन्त राखेको छ।

















प्रतिक्रिया