काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुने पार्टीको केन्द्रीय महाधिवेशनका लागि मंसिर ४ गतेदेखि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने भएको छ।
पार्टीले विभिन्न तहका अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा अब सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रक्रिया अघि बढाउन लागेको हो। प्रतिनिधि छनोटका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा निर्धारण गरिएको राप्रपाले जनाएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन्। उनीहरू पदेन प्रतिनिधिका रूपमा केन्द्रीय महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ।
पदेन प्रतिनिधिबाहेक प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट अन्य प्रतिनिधि निर्वाचित गरिनेछ। पार्टीले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट कुल नौ जना प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
निर्धारित व्यवस्थाअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट तीन जना महिला, उत्पीडित समुदायबाट एक जना तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी दुई जना निर्वाचित हुनेछन्। यसरी विभिन्न समुदाय र वर्गको सहभागिता सुनिश्चित गर्ने गरी प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको छ।
त्यसैगरी, महाधिवेशन प्रतिनिधि छनोटमा युवाको सहभागितालाई समेत प्राथमिकता दिइएको छ। सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिहरूमध्ये ४० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गरिने प्रवक्ता श्रेष्ठले बताएका छन्।
प्रतिनिधि छनोट गर्दा हिमाल, पहाड र तराईको जनसंख्यात्मक तथा क्षेत्रगत प्रतिशतलाई समेत आधार बनाइनेछ। पार्टीको विधान र निर्देशिकाले तोकेको संख्या, योग्यता तथा मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि चयन गरिने राप्रपाले जनाएको छ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी प्रतिनिधिहरूको टुंगो लगाइनेछ। यससँगै पार्टीको आन्तरिक संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक रणनीति तथा नेतृत्व चयनलगायतका विषयलाई टुंगो लगाउनेछ।
विभिन्न तहका अधिवेशन सम्पन्न गरिसकेको राप्रपाले अब महाधिवेशन प्रतिनिधि छनोटलाई अन्तिम तयारीका रूपमा अघि बढाएको छ। मंसिर ४ देखि १० गतेसम्म हुने प्रतिनिधि छनोट प्रक्रियापछि पार्टीको केन्द्रीय महाधिवेशनको माहोल थप तात्ने देखिएको छ।

















प्रतिक्रिया