उत्पादन बढाउँदै करको दायरा फराकिलो बनाउन मुख्यमन्त्री थापाको जोड


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि सम्भव नहुने बताएका छन् । उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गर्दै करको आधार फराकिलो बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए । करको भार बढाउनुभन्दा उत्पादन र आर्थिक गतिविधि विस्तार गरी कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

उनले आर्थिक क्षमता बढी भएका व्यक्ति तथा व्यवसायले सोहीअनुसार योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पार्न नहुने बताए । इमानदारीपूर्वक कर तिर्ने नागरिक निरुत्साहित हुने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री थापाले करको उद्देश्य राज्यको ढुकुटी भर्नुमा मात्र सीमित नभई समावेशी अर्थतन्त्र निर्माण गर्नु पनि रहेको बताए । नागरिकले तिरेको करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो ।

कर तिरेपछि नागरिकले गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ र सुरक्षाजस्ता आधारभूत सेवाको अपेक्षा गर्ने उल्लेख गर्दै उनले सरकारले सार्वजनिक खर्चको प्रतिफल नागरिकको जीवनमा देखिने गरी काम गर्नुपर्ने बताए ।

सरकारको सफलता कति बजेट खर्च भयो भन्ने आधारमा नभई नागरिकको जीवनमा कस्तो परिवर्तन आयो भन्ने आधारमा मापन हुनुपर्ने उनको धारणा थियो । सडक तथा अस्पताल निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसबाट नागरिकले सहज र गुणस्तरीय सेवा पाए वा पाएनन् भन्ने विषय महत्त्वपूर्ण हुने उनले बताए ।

‘करदाताको एक रुपैयाँ पनि राज्यको जिम्मेवारी हो भन्ने भावना शासन प्रणालीका हरेक तहमा स्थापित हुनुपर्छ,’ उनले भने, ‘कर उठाउने सरकारभन्दा करको सदुपयोग गरेर नागरिकको जीवन बदल्ने सरकार बन्नु हाम्रो लक्ष्य हुनुपर्छ ।’

मुख्यमन्त्री थापाले आन्तरिक राजस्व परिचालनलाई आर्थिक आत्मनिर्भरतासँग जोड्दै बाह्य ऋण र अनुदानमा अत्यधिक निर्भरता दीर्घकालीन आर्थिक जोखिम बन्न सक्ने बताए । प्रदेश र स्थानीय तह आर्थिक रूपमा सक्षम भए मात्र संघीयताको वास्तविक लाभ नागरिकसम्म पुग्ने उनको भनाइ थियो ।

बागमती प्रदेशमा उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, निर्माण तथा सूचना प्रविधिका क्षेत्रमा रहेका सम्भावनालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने उनले बताए ।

युवालाई विदेश नजान आग्रह गरेर मात्र नहुने भन्दै स्वदेशमै उद्यम गर्ने र सम्मानजनक आम्दानी गर्ने वातावरण निर्माण गर्नु सरकारको प्रमुख चुनौती रहेको उनले उल्लेख गरे । यसका लागि कृषि उत्पादनको उचित मूल्य र बजारीकरण, उद्योग स्थापनाका लागि सहज वातावरण तथा पर्यटन र सूचना प्रविधिमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

राजस्व चुहावट, कर छली र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री थापाले करदाताको योगदान, निजी क्षेत्रको लगानी र सार्वजनिक स्रोतको पारदर्शी उपयोगबाट मात्रै समृद्धिको प्रतिफल सबै वर्गसम्म पुर्‍याउन सकिने बताए ।