नियमविपरीत स्वरूप परिवर्तन गरिएका ४०१ बुलेट मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ । काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर चलाइएका ४०१ वटा बुलेट मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पछिल्लो एक सातामा ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन्। केही मोटरसाइकलको साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने गरेको पाइएको छ।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई कम्पनीको मौलिक स्वरूपमा फर्काएर जरिवाना तिरेपछि मात्र चालकलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।