नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि यात्रामा एक कदम अघि बढ्ने लक्ष्यसहित आज साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा आमनेसामने हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि फाइनल प्रवेशको पहिलो अवसर हुनेछ। लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी र १० अंकसहित दोस्रो भएको सुदूरपश्चिमबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम तेस्रो पटक फाइनल पुगेर पहिलो उपाधि जित्ने दाउमा छ। पछिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। यस सिजनको पहिलो भेटमा पनि लुम्बिनीले नै बाजी मारेको थियो।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ। त्यसैले दुवै टोलीका लागि आजको भिडन्त प्रतिष्ठा र फाइनल यात्राको निर्णायक परीक्षा बन्नेछ।

















प्रतिक्रिया