लागूऔषधविरुद्ध प्रहरीको देशव्यापी अपरेसन, एकैदिन २० जना पक्राउ


काठमाडौँ । प्रहरीले देशका विभिन्न ९ जिल्लाबाट अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिकसमेत रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, हजारौँ थान नियन्त्रित औषधि, नगद तथा ६ वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।

सबैभन्दा बढी खैरो हेरोइन मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट बरामद भएको छ। त्यहाँबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्।

त्यस्तै, चितवनको भरतपुरबाट ट्रामाडोल २ हजार ४१० र ऐनारगन २ हजार ५०० ट्याब्लेटसहित चार जना पक्राउ परेका छन्। कञ्चनपुरको लालझाडीबाट दुई छुट्टाछुट्टै घटनामा २६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन्।

यसैगरी झापा, मकवानपुर, सुनसरी, दाङ, कैलाली र ललितपुरबाट पनि लागूऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्। ललितपुरको गोदावरीबाट ३४० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।