आन्दोलनमा उत्रिने पत्रकार महासंघको घोषणा


काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको तथा सञ्चारकर्मीलाई जबर्जस्ती निष्कासन गरिएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ।

घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ भने मंसिर ५ गते राजनीतिक दलका प्रमुखलाई पत्र पठाइनेछ। मंसिर ५ र ६ गते पेसागत सञ्जालसँग तथा ७ गते जिल्ला तहमा सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गरिनेछ।

त्यस्तै, मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने महासंघले जनाएको छ। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत महासंघले दिएको छ।