‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुल्यो


काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्र ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज र वान सिनेमाजलगायतले बुधबारदेखि चलचित्रको अग्रिम बुकिङ खुलाएका हुन् ।

क्यूएफएक्सले प्रारम्भिक चरणमा काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी चलचित्रलाई २७ शो उपलब्ध गराएको छ । अन्य केही हलले भने टिकट बुकिङ खुलाउन बाँकी रहेको छ ।

यसैबीच, चलचित्रले मंगलबार चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सेन्सरका सदस्यहरूले समेत सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताएका छन् ।

टिजर, ट्रेलर र गीतमार्फत दर्शकमाझ राम्रो चर्चा बटुल्न सफल ‘जलाकी’ ले प्रदर्शनपछि पनि दर्शकको उत्तिकै साथ पाउनेमा निर्देशक मगर विश्वस्त छन् ।

निर्देशक मगरको यो दोस्रो निर्देशकीय सिनेमा हो । यसअघि उनले सफल चलचित्र ‘खुस्मा’ निर्देशन गरेका थिए । ‘जलाकी’ मा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । उनीहरूसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय छ । सिनेमामा क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिँदा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर बालकलाकारका रूपमा छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन् ।

चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन् ।