मकवानपुर सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो


मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिनाको मृत्यु भएको छ । यस्तै, चन्द्रनिगाहपुरबाट सुमोमा सवार भएकी नामथर र ठेगाना नखुलेकी एक महिलाको पनि ज्यान गएको छ ।

दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् ।

घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ ।