काठमाडौं । वितरण लाइन भूमिगत गर्ने तथा व्यवस्थापनको कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गर्न लागेको हो ।
प्राधिकरणका अनुसार मंसिर ३, ६ र ८ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यस्तै, मंसिर ४, १० र १४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनी–शिफल ग्राउन्ड तथा शिफल ग्राउन्ड–कालोपुल क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
मंसिर ५ गते कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा, मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९ए क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
यसैगरी, मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ४, मंसिर ११ गते बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गल–डुङ्गे अड्डा क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
मंसिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र ८ तथा मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बु–सगरमाथा स्याटेलाइट स्टेसन क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार भूमिगत विद्युत् लाइन विस्तार तथा व्यवस्थापनको काम गर्न विद्युत् कटौती गर्न लागिएको हो । मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने जनाउँदै प्राधिकरणले विद्युत् कटौतीबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ


















प्रतिक्रिया