हिमताल जोखिम न्यूनीकरणमा नेपाललाई अन्तर्राष्ट्रिय प्राविधिक सहयोग


अन्ताल्या(टर्की) । जलवायु परिवर्तनबाट हुने हानि–नोक्सानी तथा हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ ।

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) का क्रममा नेपाल र सान्टियागो नेटवर्कबीच प्राविधिक सहकार्यको औपचारिक घोषणा गरिएको हो ।

यस सहयोगअन्तर्गत यूएनडीपी, इसिमोड र क्लाइमेट एनालिटिक्सले नेपाल सरकारलाई जलवायुजन्य क्षतिको मूल्याङ्कन, तथ्याङ्क व्यवस्थापन, संस्थागत समन्वय तथा हिमताल विस्फोटको जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीतिक योजना बनाउन सघाउनेछन् ।

यसले जलवायु विपद्पछिको पुनःस्थापना, दीर्घकालीन अनुकूलन तथा अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।