काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुस भ्रमण सकेर आज बिहान स्वदेश फर्किएका छन्। रुसको राजधानी मस्कोमा सत्तारुढ दल युनाइटेड रसियाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर उनी नेपाल फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भ्रमण ऐतिहासिक र सफल रहेको बताए। ७६ देशका ४८० जना नेता तथा प्रतिनिधि सहभागी सम्मेलनमा उनले दुई पटक सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा प्रचण्डले हरेक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको धारणा राखेका थिए। आर्थिक नीति र विकासका प्राथमिकता आफैँ तय गर्न नपाएसम्म कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण हुन नसक्ने उनको भनाइ थियो।
उनले विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको उल्लेख गर्दै सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित विश्व व्यवस्था आवश्यक रहेको बताएका थिए।

















प्रतिक्रिया