स्थानीय निर्वाचनबारे आयोगले आज राजनीतिक दलसँग छलफल गर्ने


काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ । यसक्रममा आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल तथा परामर्श गर्दैछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान ११ः३० बजेका लागि दलका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको छ । बैठकमा स्थानीय तह निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे सुझाव लिइनेछ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका प्रतिनिधिहरूलाई छलफलमा आमन्त्रण गरिएको आयोगले जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसलाई मध्यनजर गर्दै आयोगले निर्वाचनको तयारी र मिति घोषणासम्बन्धी गृहकार्य थालेको हो ।

राष्ट्रिय दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको छ ।