काठमाडौँ । आगामी सुख्खायाममा विद्युत् आपूर्ति सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म विद्युत् आयातका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो ।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार १५० मेगावाट विद्युत् चौबिसै घण्टा (आरटीसी) प्रणालीमा खरिद गर्ने योजना छ । भारतीय विद्युत् व्यापारिक कम्पनीहरूबाट प्रतिस्पर्धात्मक दरमा प्रस्ताव माग गरिनेछ ।
भोटेकोशीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि आगामी सुख्खायाममा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । नयाँ आयोजना प्रणालीमा जोडिए पनि नदीमा पानीको बहाव घट्दा अपेक्षित उत्पादन नहुने अनुमान छ ।
यसअघि सबैभन्दा कम दर प्रस्ताव गरेको भारतीय कम्पनी एनटीपीसी ट्रेडिङ कर्पोरेसनले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँमा विद्युत् बिक्री गर्ने प्रस्ताव गरेको थियो । तर पछि कम्पनीले इन्धनको मूल्यवृद्धि र भारतभित्रै बढ्दो मागलगायतका कारण देखाउँदै उक्त दरमा विद्युत् बिक्री गर्न नसक्ने जनाएको थियो ।
पुरानो प्रस्तावमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएर तुलनात्मक रूपमा सस्तो दरमा विद्युत् खरिद गर्ने तयारी गरेको हो ।

















प्रतिक्रिया