भारतको ओडिशामा चक्रवात ‘अक्वान’को प्रभाव, गोपालपुर तटमा ठोक्कियो


ओडिशा । भारतको ओडिशास्थित गोपालपुर तटीय क्षेत्रमा शुक्रबार बिहान चक्रवात ‘अक्वान’ जमिनमा ठोक्किएको छ । चक्रवातका कारण राज्यका विभिन्न क्षेत्रमा भारी वर्षा भए पनि हालसम्म ठूलो मानवीय तथा भौतिक क्षति नभएको विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले बताएका छन् ।

भारतीय मौसम विज्ञान विभागका अनुसार जमिनमा प्रवेश गरेसँगै चक्रवात कमजोर बन्दै गएको छ । आँधीको गति प्रतिघण्टा ६० देखि ७० किलोमिटर र झोक्का ८० किलोमिटरसम्म मापन गरिएको थियो ।

चक्रवातको जोखिमबाट बचाउन ओडिशामा ३ लाख ७० हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारले उद्धारका लागि ४२३ टोली परिचालन गर्नुका साथै ९ हजार ३४१ आश्रयस्थल सञ्चालनमा ल्याएको जनाएको छ ।

गन्जाम जिल्लाको पात्रापुरमा सबैभन्दा बढी २०९ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विभागले चक्रवात क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरेको छ ।