काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा पठनपाठन पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनले शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ ।
बाढीका कारण क्याम्पसका संरचनामा व्यापक क्षति पुगेपछि प्रभावित बनेको शैक्षिक गतिविधि पुनःसञ्चालन गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यअन्तर्गत नियमित कक्षा सञ्चालनका लागि क्याम्पसका ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गरिनेछ । साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायत शैक्षिक सामग्री तथा सुविधासमेत उपलब्ध गराइनेछ । यसबाट पठनपाठन प्रभावित भएका तीन सयभन्दा बढी विद्यार्थी पुनः कक्षाकोठामा फर्कन सक्ने अपेक्षा गरिएको छ ।
समझदारीपछि मेयर श्रेष्ठले क्याम्पसको पठनपाठन सञ्चालनका लागि आवश्यक शैक्षिक पूर्वाधार सहयोग गर्न एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरे । उनले यस सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरे ।
एनसेल फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताइन् । प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय निकायसँग सहकार्य गरेर सहयोग पुर्याउने फाउन्डेसनको उद्देश्य रहेको उनको भनाइ छ ।
उनले विदुर नगरपालिकासँगको सहकार्य सुरुवात मात्र भएको उल्लेख गर्दै स्थानीय साझेदारसँग मिलेर थप विद्यालय तथा क्याम्पस पहिचान गरी सहयोग विस्तार गरिने जानकारी दिइन् ।
एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । त्यसपछि प्रभावित क्षेत्रका विद्यालय तथा विद्यार्थीलाई लक्षित गर्दै स्थानीय पालिकासँग प्रत्यक्ष समन्वयमा शैक्षिक सहयोग कार्यक्रम अघि बढाएको हो ।
यस कार्यक्रमको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ । विदुर नगरपालिका र स्थानीय समुदायसँगको सहकार्यमा प्रभावित क्षेत्रका विद्यालय तथा क्याम्पसहरूको आवश्यकता मूल्याङ्कन गरी पठनपाठन पुनःसञ्चालन र निरन्तरताका लागि आवश्यक सहयोग विस्तार गरिने एनसेल फाउन्डेसनले जनाएको छ ।

















प्रतिक्रिया