फर्स्टलुकमा यस्तो देखियो फिल्म ‘आशा’, फागुन १४ मा प्रदर्शन हुने


काठमाडौं । राजिव गुरुङको कथा तथा निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘आशा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। उडान स्टुडियोको प्रस्तुति रहेको फिल्मको पोस्टरले सार्वजनिक भएसँगै दर्शकमाझ कौतुहलता सिर्जना गरेको छ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन्। पोस्टरमा एउटा घरको दृश्य प्रस्तुत गरिएको छ, जहाँ अभिनेता सुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ। आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी किरियामा बसेको अवस्थामा छन्। अभिनेत्री अञ्जना बराइली भने घरको ढोकाबाट चिहाउँदै गरेको देखिन्छिन्।

रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको कथावस्तुबारे केही संकेत गरे पनि यसले दर्शकमाझ थप प्रश्न र जिज्ञासा जन्माएको छ।

निर्मात्री शर्मिला थापाका अनुसार फिल्म पारिवारिक कथावस्तुमा आधारित छ। उनले फिल्म परिवारसँग बसेर हेर्न र त्यसको विषयवस्तुमाथि मनन गर्न सकिने गरी निर्माण गरिएको बताइन्। विषयप्रधान कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको उनको भनाइ छ।

फिल्म आगामी फागुन १४ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। वितरक तथा प्रदर्शकसँगको छलफलपछि उक्त प्रदर्शन मिति तय गरिएको हो।

फिल्ममा सुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ। बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी पनि फिल्ममा देखिनेछन्।

काठमाडौं उपत्यकासहित नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मलाई रीच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

फिल्ममा सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली छायांकार, युग भुसाल र एसडी योगी संगीतकार, किशोर आचार्य साउण्ड डिजाइनर तथा लोकेश बज्राचार्य सम्पादकका रूपमा रहेका छन्।

त्यस्तै, मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी, प्रोडक्सन डिजाइनरमा रेलिजा श्रेष्ठ र पब्लिसिटी डिजाइनरमा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) रहेका छन्। फिल्मको वितरण करण श्रेष्ठले गर्नेछन्।