नदीको सफाइसहित काठमाडौंलाई बस्न योग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाउँदै काठमाडौंलाई सुरक्षित, हरियालीयुक्त र बस्नयोग्य सहर बनाउने प्रतिबद्धता जनाएका छन् ।

‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण, वायु प्रदूषण न्यूनीकरण र सहरी वातावरण सुधारका लागि सरकारले ठोस योजना अघि बढाउने बताए ।

उनका अनुसार बाढीको पूर्वसूचना प्रणाली विकास गर्ने, नदीका मुहान संरक्षण गर्ने, आकाशे पानी सङ्कलन, भूमिगत जल पुनर्भरण र सडक किनारमा रैथाने रूख रोप्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यस्तै, काठमाडौं महानगरसहित नदी प्रणालीसँग जोडिएका १७ नगरपालिकासँग समन्वय गरेर नदी संरक्षणको काम अघि बढाइने उनले बताए ।

श्रेष्ठले स्वच्छ बागमती–विष्णुमती करिडोर, हरियाली सडक, सुरक्षित सार्वजनिक स्थल र प्रदूषणमुक्त काठमाडौं निर्माण गर्न सबै पक्षलाई सहकार्य गर्न आह्वानसमेत गरेका छन् ।