कोशीको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी भित्र्याउन पहल


विराटनगर । कोशी प्रदेशको पूर्वाधार विकास र निजी लगानी प्रवर्द्धन गर्न प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा प्रदेश लगानी प्राधिकरणका अध्यक्ष हिक्मत कुमार कार्कीको उपस्थितिमा दुवै पक्षले एक वर्षका लागि समझदारी गरेका हुन् । समझदारीअनुसार कोशीमा सम्भाव्य पूर्वाधार आयोजना पहिचान गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल र निजी क्षेत्रको लगानीमार्फत कार्यान्वयन गर्न सहकार्य गरिनेछ ।

प्रदेश लगानी प्राधिकरणले आयोजनाको सूची तयार गर्नेछ भने निफ्राले तिनको वित्तीय सम्भाव्यता मूल्याङ्कन तथा वित्तीय व्यवस्थापनमा सहयोग गर्नेछ । प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले कोशीका कम्तीमा पाँचवटा आयोजनामा निफ्राले लगानी गर्नुपर्ने धारणा राखेका छन् ।

यसै अवसरमा सुनसरीको दुहबीमा ५६ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको फोहोरमैला प्रशोधन तथा व्यवस्थापन परियोजनामा कर्जा लगानी गर्न निफ्रा र विकासकर्ता कम्पनी रिभाइभ इन्फ्राटेक एण्ड इन्भेष्टमेन्टबिच छुट्टै समझदारी भएको छ । १६ बिघा जग्गामा निर्माण हुने उक्त परियोजनाले क्षेत्रको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दुवै पक्षले यस सहकार्यले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण गर्नुका साथै पूर्वाधार विकास र आर्थिक तथा सामाजिक प्रगतिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।