स्थानीय र प्रदेश चुनावमा एमालेसँग मिल्ने सहमति भइसकेको छ : प्रचण्ड


काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमालेसँग मिलेर जाने नीतिगत सहमति भइसकेको बताएका छन् ।

गोरखा पुगेका प्रचण्डले एमाले र मसालसँग सदन तथा सडकमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको बताए । उनले बाँकी कम्युनिस्ट घटकलाई समेत एकताबद्ध गरी एउटै राजनीतिक केन्द्र निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल भइरहेको बताउँदै उनले सहकार्य र एकतामार्फत देशको परिस्थिति बदल्नुपर्नेमा जोड दिए । यद्यपि ओलीलाई आफ्नो प्रस्ताव बुझाउन सहज नभएको उनको भनाइ थियो ।

प्रचण्डले कांग्रेससहित संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी राजनीतिक शक्ति तथा मधेस केन्द्रित दलहरूसँग पनि संविधान, गणतन्त्र, समावेशिता र सङ्घीयताको रक्षाका लागि सहकार्यबारे छलफल भइरहेको बताए ।