सलोन र विमलाको ‘जाला जोबन’ सार्वजनिक, शोभित बस्नेतको निर्देशनमा देखियो आकर्षक जोडी


काठमाडौं । सान्भि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको डान्सिङ गीत ‘जाला जोबन’ सार्वजनिक भएको छ। विवाहको मौसमलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा सलोन बस्नेत र विमला खत्रीको अभिनय रहेको छ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको भिडियोमा सलोन र विमलालाई आकर्षक जोडीका रूपमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा उनीहरूको नृत्य र केमेस्ट्रीलाई विशेष प्राथमिकता दिइएको छ।

सान्भि इन्टरटेन्मेन्टको यो पहिलो म्युजिक भिडियो हो। निर्मात्री करिश्मा केसीले आफ्नो पहिलो प्रस्तुतिलाई दर्शकले माया गर्ने अपेक्षा व्यक्त गरेकी छन्।

निर्देशक शोभित बस्नेतले आगामी दिनमा फिल्म, म्युजिक भिडियोसँगै सिरिज र पोडकास्टसमेत निर्माण गर्ने योजना रहेको बताए। आफूहरू पर्दापछाडि रहेर काम गर्दै छोरा सलोन बस्नेतलाई अगाडि बढाउने उनको भनाइ छ।

गीत सार्वजनिक कार्यक्रममा सहभागी भएकी मोडल विमला खत्रीले गीतको सार्वजनिकपछि अस्ट्रेलिया फर्किने बताएकी छन्। उनी आफ्नो अस्ट्रेलिया फर्किने समय केही लम्ब्याएर गीत सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन्।

सिडी विजय अधिकारी र शान्तिश्री परियारको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रहेको छ। गीतको रेकर्डिङ डिभाइन स्टुडियोमा गरिएको हो।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोको छायांकन सौरभ लामाले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोले विवाहको माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।