दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा बहस, अन्तरिम आदेश आउने कि नआउने आजै टुंगो लाग्ने


काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ जारी छ। सरकारको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा दुवै पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन्।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा सुरुमा निवर्तमान आईजीपी कार्कीका तर्फबाट उपस्थित कानुन व्यवसायीहरूले बहस गरेका थिए। त्यसपछि सरकारको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता डा. नारायण कँडेलसहित सरकारी वकिलहरूले आफ्नो पक्ष राखेका छन्।

कार्कीका कानुन व्यवसायीहरूले उनलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र नयाँ जिम्मेवारी दिएर भूमिकाविहीन बनाइएको जिकिर गरेका छन्। उनीहरूले सरकारलाई विनाकारण प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाउने अधिकार नरहेको भन्दै निर्णय बदर गर्न माग गरेका छन्।

बहसका क्रममा उनीहरूले विगतका न्यायिक नजिरसमेत प्रस्तुत गर्दै सरकारको निर्णय कानुनसम्मत नभएको दाबी गरेका छन्। प्रहरी संगठनको प्रमुखलाई निश्चित आधार र कानुनी प्रक्रिया पूरा नगरी हटाउन नमिल्ने उनीहरूको तर्क छ।

यता, सरकारका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता डा. नारायण कँडेलसहित सरकारी वकिलहरूले भने कार्कीलाई जिम्मेवारीबाट हटाइएको नभई अझ महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको जिकिर गरेका छन्।

सरकारी पक्षले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको भन्दै यसलाई पदबाट हटाइएको नभई थप महत्त्वपूर्ण जिम्मेवारीका रूपमा व्याख्या गरेको छ। त्यसैले आफ्नो बढुवाविरुद्ध कार्की सर्वोच्च अदालत जानुपर्ने अवस्था नरहेको उनीहरूको तर्क छ।

सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि अहिले दुवै पक्षबीच कानुनी बहस भइरहेको छ।

दुवै पक्षको बहस सकिएपछि सर्वोच्च अदालतले बुधबार नै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय दिन सक्ने सम्भावना छ।

अब सर्वोच्च अदालतले सरकारको निर्णयलाई तत्काल रोक लगाउँछ वा सरकारी निर्णयलाई यथावत् रहन दिन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ। अदालतको आदेशले दानबहादुर कार्कीको जिम्मेवारी विवादमा तत्कालका लागि महत्त्वपूर्ण कानुनी दिशा तय गर्नेछ।