जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई राहत वितरण तीव्र पार्दै सरकार


काठमाडौँ । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणका लागि एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यान्वयनमा रहेका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी कार्यक्रम सम्बन्धित मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय भएको जानकारी दिए ।

शहीद परिवार र घाइतेका माग सम्बोधन गर्न सरकारले ‘नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३’ को मस्यौदामाथि गृहकार्य गरिरहेको छ । मस्यौदामा अर्थ र कानून मन्त्रालयको राय प्राप्त भइसकेको र गृह मन्त्रालयको राय आएपछि थप परिमार्जन गरिने उनले बताए ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार बिहानसम्म १८ अर्ब ६२ करोड ८ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको प्रवक्ता अर्यालले जानकारी दिए ।