Logo

बला,त्कार आरोपी महरालाई सभामुखबाट हटाइयो, हत्या आरोपी सापकोटालाई सभामुख बनाइँदै

काठमाडौं – आरोप लाग्नु दोषि हुनु होइन । आरोप लाग्दै आरोपी दोषि हुँदैन । जबसम्म न्यायलयले दोषि करार गर्दैन, तबसम्म कोही पनि दोषि हुँदैन । तर, न्यायलयले दोषि वा निर्दाेष सावित गर्नुअघि नैतिकता हेर्ने गरिन्छ । जिम्मेवार व्यक्तिमाथि आरोप लागे, आरोप लागेकै आधारमा आफ्नो जिम्मेवारीबाट पन्छिएर कानुनी अनुसन्धान गर्न बाटो खुला गर्न आरोपीले नैतिकताको आधारमा राजीनामा दिने गरिन्छ । यही आधारमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए, दिन लगाइयो । यौनदुराचारको आरोप लागेकैभरमा उनले राजीनामा दिए ।

हाल उनी पुर्पक्षका लागि थुनामा रहेका छन् । महरा नेकपाका नेता थिए । उनले राजीनामा दिएपछि भावी सभामुख पनि नेकपाकै नेता हुनेछन् । सभामुख कसलाई बनाउने भन्ने महिनौं दिनको रस्साकसीपछि अग्निप्रसाद सापकोटाको नाम टुंगो लाग्यो । अब उनी सभामुख बन्ने प्रक्रियामा रहेका छन् । सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमार्फत सभामुख चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

यौनदुराचारको आरोप लागेकैभरमा महराले सभामुखबाट राजीनामा दिए । नेकपाका शीर्षनेताले उनलाई राजीनामा दिन दबाब दिइयो । तर, जसले महरालाई नैतिकताको आधारमा राजीनामा दिन लगाए, उनै नेताले हत्या आरोप लागेका अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरे ।

सापकोटाविरुद्धको ज्यानमुद्दा भने सर्वोच्च अदालतको संवैधानिक इजालासमा विचाराधीन छ। अर्जुन लामा हत्याकाण्डमा मुछिएका सापकोटाविरुद्धको मुद्दा लामो समय चलेपछि त्यसको छानबिन गर्ने जिम्मा संवैधानिक इजलासलाई दिइएको छ।गत असार १५ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध बेपत्ता छानबिन आयोगमा उजुरी परेको वा नपरेको, यदि परेको भए सोको प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको अवस्था विद्यमान छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त आदेश दिएको थियो।

तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र ओमप्रकाश मिश्रले २०७२ चैत २२ गते सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजालासबाट टुङ्ग्याउन निर्देशन दिएपछि सापकोटाविरुद्धको मुद्दा उक्त इजलासमा पुगेको हो। सापकोटामाथि कर्तव्य ज्यानसहित अदालतको अवहेलना मुद्दा लिएर संवैधानिक इजलासले निर्णय लिन खोजिरहेको छ, त्यसका लागि बेपत्ता आयोगमा उजुरी परे नपरेको औपचारिक पत्र कुरिरहेको अवस्था छ। २०६२ वैशाख १६ गते काभ्रे छत्रबासका अर्जुन लामालाई माओवादी कार्यकर्ताले अपहरण गरी लगेको र दुई महिनापछि लामाको शव बुढाखानी गाविसमा भेटिएको थियो।

‘सर्वोच्च अदालतले नेकपा नेता सापकोटाविरुद्ध परेको मुद्दामा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट फाइल झिकाउन आदेश दिएको छ। काभ्रे छत्रबाँझ–५ दाप्चाकी पूर्णिमाया लामाले आफ्ना श्रीमान् अर्जुन लामाको माओवादी द्वन्द्वकालमा हत्या भएको अभियोगमा दायर गरेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बेपत्ता छानबीनका लागि बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट उनले दिएको निवेदनको प्रतिलिपि मगाएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीले पूर्ण इजलासले यस्तो आदेश दिएको हो। पूर्णिमायाले सापकोटासहितका तत्कालीन माओवादी नेताहरूलाई विपक्षी बनाई २०६९ मंसिर ७ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालमा मुद्दाको सम्बोधन गर्ने राजनीतिक सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्