Logo

सुपा देउरालीमा पुगेपछि गाडीको स्टार्ट किन बन्द हुन्छ ! जानी राखौ

अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् ।

किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो ।

देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ । मन्दिर नजिकको पहरामा पछि लाहुरेको नक्सा र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ ।

सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्डनै राखेको छ । अहिले पनि सो बाटो भएर हिँड्ने गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् । सुपादेउराली दर्शनको लागि पश्चिम नेपालका गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट समेत दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

सुपादेउरालीको मन्दिरमा पूजाआजा गर्न आएका धर्मावलम्वीहरु ।

ती जिल्लाहरूमा विवाह गरेपछि सुपादेउरालीको दर्शन गर्ने प्रचलन बढ्दै गएको छ । यसपटकको दशंैको समयमा दर्शनार्थीको भीडका कारण मन्दिर आसपासमा गाडी पार्किङको समस्या देखिएको थियो । मन्दिर भिरको टाकुरामा रहेको कारण सो स्थानमा पार्किङको समेत समस्या देखिएको छ ।

मुख्य मन्दिर नरपानीमा भएपनि अर्घाखाँचीकै बेला र केरुङ्गामा सुपादेउरालीको शाखा मन्दिर स्थापना गरिएको छ । अर्घाखाँचीका अन्य गाविसमा पनि सुपादेउरालीका शाखाविस्तार गरिएको छ । बेला भन्ने स्थानमा रहेको सुपा मन्दिरमा दशंैको समयमा बलि चढाउनेको उत्तिकै भीड लाग्ने गर्छ ।

मन्दिरमा चढाएको बोकाको मासु नजिकै रहेको खोलो तरेर लैजान नहुने किंवदन्ति अनुसार पूजा गर्न आउनेहरू सोही स्थानमा ‘प्रसादका रूपमा’ मासु खाएर फर्किने गर्छन् ।

सुपादेउराली मन्दिरभित्र नवदुर्गा, महाकाली, महालक्ष्मी, महासरस्वती, शिवजी, गणेश, पाञ्चायन देवता, सिद्ध, झाँक्री लगायतका थुप्रै मूर्तीहरू छन् ।

प्रतिक्रिया दिनुहोस्