Logo

छाता र टेलिस्कोप बोकेर छेन्दुमा अमेरिकी महावाणिज्य दूतावास बन्द भएको हेर्न चिनियाँको भीड !

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास सोमबारदेखि बन्द भएको छ। टेक्सासको ह्युजटनमा आफ्नो महावाणिज्य दूतावास बन्द गराएको बदलामा शुक्रबार चीनले छेन्दुको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो। अमेरिकी महावाणिज्य दूतावास बन्द हुने भएपछि चिनियाँहरूले उक्त घटनालाई निकै चासोका साथ हेरेका छन्। साउथ चाइना मर्निङ पोष्ट समाचारपत्रका अनुसार महावाणिज्य दूतावास बन्द भएको हेर्न हेनान, हुबई, सियानलगायत टाढाटाढा प्रान्तबाट मानिसहरू छेन्दु आएका छन्।

सन् १९८५ मा स्थापना भएको उक्त महावाणिज्य दूतावास बन्द हुनु अन्तर्राष्ट्रिय राजनीतिको महत्वपूर्ण घटना भएकाले पनि आफूहरू त्यसको साक्षी बन्न आएको उनीहरूले बताएका छन्। उनीहरूले महावाणिज्य दूतावास देखिने गरी सेल्फी खिचेका छन् भने कतिपयले चिनियाँ झन्डा बोकेका छन् र राष्ट्रवादी गीत पनि गाएका छन्।

छेन्दु एडुकेशन इन्स्टिच्युटमा काम गर्ने २६ वर्षीय जोलिन वाङले आफू शुक्रबारदेखि लगातार टेलिस्कोप र छाता लिएर महावाणिज्य दूतावास हेर्न गएको बताइन्।

‘यो अन्तर्राष्ट्रिय चासोको विषय हो र मेरोनजिकै भइरहेको छ। अमेरिकाको महावाणिज्य दूतावास कसरी बन्द हुँदो रैछ भन्ने सबै थाहा पाउन दिनदिनै गएको हुँ,’ उनले भनिन्। सोमबार बिहान केही छेन्दुवासी त कार्यालय नगई महावाणिज्य दूतावास हेरिरहेका थिए।

३० वर्षीया एलेन हुको अफिस साढे ९ बजेदेखि सुरू हुन्थ्यो तर उनी महावाणिज्य दूतावास बन्द भएको हेर्न १० बजेसम्म त्यहीँ कुरेर बसेकी थिइन्। ‘यो बन्द भएको हेर्नु अफिस जानुभन्दा धेरै महत्वपूर्ण छ,’ उनले भनिन्,‘किनकी यस्तो घटना दशकौं वर्षपछि मात्र हुन्छ।’

छोरालाई भेट्न उत्तरी हुवेई प्रान्तबाट छेन्दु आएका ६० वर्षीय सु जुनछिङ पनि शनिबार र आइतबार महावाणिज्य दूतावास हेर्न पुगेका थिए।

‘मलाई लाग्छ-धेरै मान्छे उत्सुक छन्। मेरो विचारमा यो महावाणिज्य दूतावास फेरि खुल्छ होला किनकी चीन र अमेरिकाले आपसी सहकार्य रोके भने पूरै संसारलाई नै राम्रो हुन्न,’ उनले भने।

सोमबार बिहानदेखि महावाणिज्य दूतावास आसपासमा ठूलो संख्यामा प्रहरी खटाइएको छ भने बाटो पनि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्